डडेल्धुरा : तलब खुवाउन समस्या परेको भन्दै नवदुर्गा गाउँपालिकाले ७५ जना करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले करारका सबै कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि कुमार चौधरीले बताए ।
गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीका अनुसार गाउँपालिकाको आन्तरिक आय न्यून छ । राजस्व बाँडफाँड अन्तरगतको रकम संघिय सरकारले कटौती गरेपछि करारका कर्मचारीहरु लाई तलब खुवाउन समस्या परेको छ ।
वडा नं. १ का अध्यक्ष शेर साउदका अनुसार यसअघिका जनप्रतिनिधिले मापदण्ड विपरीत कर्मचारी भर्ना समेत गरेका थिए । आर्थिक अवस्था कमजोर संगै देशमा आर्थिक मन्दि बढेकाले करारका कर्मचारीहरुको म्याद थप नगरिएको हो ।
वडा नं ४ का अध्यक्ष पदम बिष्टले करारका कर्मचारी हटाउँदा वडा कर्मचारी विहीन हुन पुगेको बताएका छन । उनका अनुसार गाउँपालिकाले गरेको निर्णयले गर्दा वडा नं. ४ को कार्यालय खाली भएको छ । वडा खाली हुदा कार्यालय बन्द हुन पुगेको छ । करारमा रहेका वडा सचिव डम्बर बोहरा, पशु प्राबिधिक केशव राज भट्ट र ज्ञान बहादुर बिष्ट, कृषि प्राबिधिक सुरेन्द्र बिष्ट, कार्यलय सहयोगी हर्क बहादुर बिष्ट गरि पाँच जना कर्मचारी करारमा काम गर्दै आईरहेका थिए ।
उनीहरुको करार सम्भौताको म्याद नथपिएपछि कार्यलयमा उपस्थित भएका छैनन् । कार्यालय बन्द जस्तै भएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा नवदुर्गा गाउँपालिकाको आन्तरिक राजस्व २३ लाख २७ हजार रुपियाँ बराबर संकलन भएको थियो । यो अन्य गाउँपालिकाको तुलनामा निकै कम भएको पालिका अध्यक्ष अवस्थीको भनाई छ । आन्तरिक राजस्वका दायरा बढाउन छलफल गरिने उनले बताएका छन ।