धनगढीः डडेल्धुरामा लम्पी स्किन रोगबाट ४१ हजार ५ सय गाईगोरुमा संक्रमण देखिएको छ। डडेल्धुराका सातवटै स्थानीय तहका गाईगोरुमा फैलिएको लम्पी स्किन रोगबाट १ हजार १ सय ९८ पशुचौपायको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ।
गाईगोरुमा साप्रा सुन्निएर ठूलो हुने, घाउँ पाक्ने र किरा परेपछि किसानलाई समस्या थपिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा फैलिएको लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम बिरामी परेका छन्।
पहाडी जिल्लामा फैलिएको यो रोगबाट डडेल्धुरामा ४१ हजारभन्दा बढी पशुचौपायामा संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा प्रमुख देवराज भट्टले जानकारी दिए।
डडेल्धुरामा लम्पी स्किन रोगविरुद्ध खोप लगाउन २ हजार खोप खरिद गरिएको भएपनि थोरै खोप भएका कारण प्रयोग गरिएको छैन। डडेल्धुरामा मात्रै ६० हजार पशुचौपायमा लम्पी स्किन विरुद्धको खोप लगाउनु पर्ने केन्द्रले जनाएको छ।