धनगढी: सुदूरपश्चिममा सभामुख नै सरकारविरुद्ध बोलिरहेको पाइएको छ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सरकारविरुद्ध फायर खोलिरहेको पाइएको हो।
माओवादीबाट सभामुख बनेका भण्डारीले प्रदेश सरकार असमावेशी भएकोदेखि प्रदेश सभालाई काम नदिएर गैरजिम्मेवार बनाएकोसमेत दाबी गरेका छन्।
अस्तिको शुक्रबार उनले प्रदेश सभामै म सुन्ने, केही नबोल्ने सभामुख हुन चाहन्न, मैले भनेको कुरा लेख्नुस् भन्दै पत्रकारलाई भनेका थिए।
उनले प्रदेशसभा सचिवालयमा सुदूरपश्चिमको विषय जोड्दै यहाँ नौ जिल्ला छन्, सरकारमा पनि नौ मन्त्री छन् तर त्यसमा पनि एउटै जिल्लाका पाँच मन्त्री छन् अनि कसरी सरकार समावेशी भयो त ? एउटा महिलामन्त्री पनि छैन, राज्यमन्त्रीमा थन्क्याइएको भनेर झोक्किएका थिए।
हुन पनि कैलाली–२ को क बाट निर्वाचित कमलबहादुर शाह मुख्यमन्त्री, कैलाली क्षेत्र नम्बर २ कै ख बाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, ५ को क का रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, ख का प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार र कैलाली क्षेत्र नम्बर १ क का कैलाश चौधरी कृषि राज्यमन्त्री छन्। मुख्यमन्त्री शाह र भौतिकमन्त्री देउवा नेपाली कांग्रेस, वनमन्त्री धामी माओवादी तथा चौधरीद्वय नागरिक उन्मुक्तिका हुन्।
सभामुख भण्डारी त्यत्तिमा रोकिएनन्। उनले भने– जनताले प्रदेश सभाले काम गरेन भनेर टिप्पणी गरिरहेका छन् तर प्रदेशसभा अचानो भएको छ, सरकारले विधेयक ल्याउँदैन, सभाले आफैँ विधेयक उत्पत्ति गर्न मिल्दैन, सरकारकै कमजोरीका कारण सभा चलेको छैन। उनले सरकारले इफ, बट भन्न पाउँदैन प्रदेश सभालाई बिजनेश दिनुपर्छ पनि भनेका छन्।
यी कुराहरुले सभामुख र सरकारबीच नै राजनीति चलिरहेको बताइन्छ।