बझाङ : प्रधानमन्त्री प्रचण्डसँग कुरा राख्न आएका भूकम्पपीडितले आज सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्रीलाई भेट्न नपाएको र आफ्ना पीडाको सुनुवाइ नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै नाराबाजी गरे।
उनीहरूले बाहिर नारा लगाइरहँदा प्रधानमन्त्री प्रचण्ड जिल्ला प्रशासन कार्यालयभित्र थिए। प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै प्रहरीले उनीहरूलाई केही बेर नियन्त्रणमा लिएको थियो। बझाङका भूकम्पपीडितले प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो गरेका छन्। पीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटी आफ्ना समस्या राख्न नपाएको गुनासो गरेका हुन्।
उनीहरूले प्रधानमन्त्री भेट्न नदिइएपछि भन्दै आक्रोश पोखेका हुन्। प्रधानमन्त्री प्रचण्ड बझाङ आउने खबर पाएपछि सदरमुकाम पुगेका पीडितहरूले समस्या राख्न पाउने आशा राखेका थिए।
एक घण्टाको बस यात्रा गरी चैनपुर पुगेका थलारा गाउँपालिका-९ सिरेटाका ज्ञानु दमाईंले भने, ‘प्रधानमन्त्रीलाई केही समस्या सुनाउँला भनेर बिहानै आएको हुँ। भेटेर कुरा राख्न त के देख्नै पाइनँ। पहिले बाढी पहिरोका वेला आएका प्रधानमन्त्री हेलिप्टरबाट हेरी जानुभयो। अहिलेका प्रधानमन्त्री भुइँमा त झर्नुभयो हो‚ गाडीबाटै हुइँकेर प्रशासनभित्र छिर्नुभयो। हामी गेटमै रोकियौं।’
जयपृथ्वी नगरपालिका-१० का शम्भु ओखेडाको पनि प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न नपाएको गुनासो छ। ओखेडाले पनि आफ्नै घर नजिकै भएर हिँडे पनि एक शब्द नबोलेर जाँदा दुःख लागेको बताए।
उनले भने, ‘हाम्रो टोलका एकजना पीडितसँग मात्रै बोल्नुभयो। समस्या राख्ने मन थियो तर प्रधानमन्त्री हेर्दै नहेरी जानुभयो।’ जयपृथ्वी नगरपालिका-३ का वीरबहादुर ओलीले पनि प्रहरीले गेटमै थुन्दा प्रधानमन्त्रीसँग दुखेसो पोख्न नपाएको गरे।
बझाङको दरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रम प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि केही घोषणा गरेका छन्।
क्षतिग्रस्त संरचना मर्मत, प्रबलीकरण वा पुनर्निर्माण गरिने‚ पूरै क्षति भएका घरकालाई अस्थायी आवास बनाउन पचास हजार दिने‚ १५-२० हजार राहत खर्च र राहत सामग्री दिने र घाइतेको निःशुल्क उपचारका साथै मृतकका परिवारलाई २ लाख सहयोग दिने उल्लेख छ।