चितवन : ईलाका प्रहरी कार्यालय, रत्ननगरमा एक जना घुमुवाले प्रहरी जवानलाई हप्काएपछि माहौल तातिएको छ आफ्नी श्रीमतीलाई ड्युटीमा हालेको भन्दै सहायक हवल्दार रुपेश गुरुङ्गले जवान विकेश शाहलाई हप्काएको घटना बाहिरिएसँगै माहौल तातिएको हो ।
कार्यालय प्रमुख नायव उपरीक्षक (डिएसपी) अनिलकुमार खड्काका विश्वासपात्र रहेका गुरुङ्गले श्रीमती अम्बिका भुलनलाई ड्युटीमा हालेको निहुँमा थर्काएको बताइएको छ ।
‘उनले ब्यारेकभित्र रहेका अन्य महिला प्रहरीलाई हाल्न सक्दैनस्,तैलें मेरै श्रीमतीलाई ड्युटीमा हाल्नुपर्छ भन्दै कार्यालयमै पुगेर गाली गरेका थिए । घटना घटेको एक साता भइसकेको छ । प्रहरीभित्र आफ्नै अनुशासन र चेन अफ कमाण्ड हुने भएकाले पनि गुपचुप राखिएको स्रोतले बतायो ।
यद्यपि, घुमुवाको अत्याचार सहन नसकेपछि प्रहरीले नै यो घटना सार्वजनिक गरेका छन् । सिन्धुपाल्चोक दरबन्दी भएका घुमुवा उनीहरु दुई वर्षअघि काजमा चितवन आएका हुन् । तत्कालीन प्रहरी उपरीक्षक नवराज अधिकारीको चाप्लुसी गरेर सहायक हवल्दार भुलन ईलाका प्रहरी कार्यालय,रत्ननगर पुगेकी थिइन् ।
भुलनले आफ्नो श्रीमान् डिएसपीको नजिक रहेकाले ड्युटी नै गर्नुनपर्ने भनी रवाफ देखाउँदै आएको बुझिएको छ । उनीहरुको काज अवधि समाप्त भए पनि डिएसपी खड्काले रमाना गरेका छैनन् । दरबन्दीमा नै जानु नपरेका उनीहरुको इशारामा वरिष्ठ हवल्दार दिनेश सिंहले ड्युटी मिलाइदिने गरेका छन् । जसले गर्दा सकल दर्जाका इमान्दार प्रहरी कर्मचारीहरु मर्कामा परेका छन् ।
पहुँच भएका प्रहरीलाई ड्युटीमा नहाल्ने र अन्यलाई सक्दो पेल्ने कार्य चार महिनादेखि कार्यालयमा हुँदै आएको छ । कोर्टमास्टर तथा घुमुवा दुवैको जिम्मेवारी सम्हाल्दै आएका वरिष्ठ हवल्दार सिंह र सहायक हवल्दार गुरुङ्गले पूरै प्रहरी कार्यालयको जिम्मेवारी चलाइरहेको भन्दै अन्य कर्मचारीले खिल्ली उडाउन थालेका छन् ।
यता, प्रहरी जवान शाहलाई हप्काउने दम्पत्तीलाई रमाना गर्न नसकेको भन्दै डिएसपी खड्कामाथि प्रश्न उठाउन थालिएको छ । रमाना गराउने, हटाउने, राख्ने, ड्युटीको जिम्मेवारी सुम्पिनेलगायतका काम वरिष्ठ हवल्दार सिंह र घुमुवा प्रहरी गुरुङ्गले गर्दै आएका छन् । गत जेठ ३२ गते घुमुवा दिपेश बस्नेतलाई दाङ रमाना गरेपछि गुरुङ्गको ठाँट नै बेग्लै भएको छ । उनले आफूलाई डिएसपी खड्काको दाहिने हात बताउने गरेका छन् ।