बझाङ : थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार पहिलेदेखि नै गाउँ–गाउँमा गएर आरनको काम गरी जीविका चलाउँदै आएका छन्।
आरनबाट जीविका चलाउन मुश्किल हुन थालेपछि उनी बेलाबेला भारत पनि जाने गर्छन्। भारतका विभिन्न सहरमा मजदुरी गरेर छोराछोरीलाई पढाइ र घरायसी खर्चको जोहो गर्दैगर्दा अघिल्लो वर्ष कात्तिकमा गाउँमा भूकम्प गयो र उनको घर चर्कियो ।
त्यसपछि उनी घर फर्किए र चर्किएको घर टालटुल गरेर बस्न थाले। अघिल्लो वर्षको भूकम्पको पीडा बिर्सन नपाउँदै गएको मङ्गलवारको ठूलो भूकम्पले उनको घर भत्कियो । अहिले उनीसहित ४ छोराछोरी श्रीमतीको त्रिपालमुनिको बास भएको छ ।
लुहारले भने, ‘गाउँ–गाउँबाट आरनको काम गरेर जम्मा गरेको अन्नपानी (खाद्यान्न), लत्ताकपडा घर भित्रै च्यापियो । अहिले एक छाकको जोहो गर्न पनि धौ–धौ छ । बाहिर खुल्ला आकाश मुनिको बास छ । छोराछोरीको चिन्ता एकतर्फ छ भने रातिको समयमा के बिच्छ्याउने ? के ओढ्ने ? साह्रै समस्या भएको छ ।’ अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको उनको गुनासो छ ।
थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापा सुत्केरी भएको ६ महिना भयो । उनको पनि खुल्ला आकाश मुनिको बास छ । उनलाई आफ्नोभन्दा पनि ६ महिनाको शिशुको चिन्ता छ । उनका ससुरा नरबहादुर थापा भन्छन्, ‘भर्खर जन्मिएको नातिलाई खुल्ला आकाशमुनि बसाल्दा निकै समस्या छ ।’ बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको उृनले बताए।
थलारा गाउँपालिका–९ आमबरकी एकल महिला मुलुदेवी दमाईको पनि उस्तै समस्या छ । भएको सानो झुपडी भूकम्पले भत्काएपछि उनलाई कसरी रात बिताउने भन्ने चिन्ताले पिरोलेको छ । ‘कोही पनि छैन । सम्पत्तिको नाममा एउटै झोपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरुबाट स–साना पालका टुक्रा सङ्कलन गरेर टहरो बनाएकी छु । सानो पाल र एक छाक खानको जोहो कसैले गरी दिए वा आफूले पाए तत्काललाई ठूलो राहत हुन्थ्यो’ उनले भनिन्।
यस्तै सिरेटाका हिरा शार्कीको पनि अवस्था उस्तै छ । उनको घरमा उनीसहित श्रीमती र तीनजना छोराछोरी छन् । भारतका विभिन्न सहरमा मजदुरी गरेर जीविका चलाउँदै आएका हिरा घर आएको ५ महिना मात्रै भयो । भूकम्पले घर पूरै भत्काएपछि उनीसहित छिमेकीहरु खुला चौरमा बस्न बाध्य छन् ।
उनी भन्छिन्, ‘छोरी १४/१५ वर्षकी भइन् । शौच गर्नका लागि शौचालय पनि भत्किएको छ । खुला ठाउँमा रातिको समयमा डर हुन्छ । हामी पुरुषभन्दा पनि मेरो छोरी जस्तै अरुका छोरीबुहारीलाई बढी समस्या छ ।’ भूकम्पपछि एकरात पनि राम्रोसँग सुत्न नपाएको उनबो गुनासो छ।
शुक्रवार प्रधानमन्त्रीसहित मन्त्रीहरु आए पनि राहत नआएको पीडितहरुको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूहरुका समस्या राख्न चाहे पनि नपाएको पीडितहरुको भनाइ छ । पीडितहरुका अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेर फर्किएका छन् ।
थलारा वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्रबहादुर विष्टका अनुसार गाउँमा १ सय ३० वटा घर पूर्णरुपमा भत्किएको छ । २ सय ७५ वटा घर उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेन्द्र चौधरीले भूकम्पबाट सबैभन्दा धेरै क्षति थलारा गाउँपालिकामा भएको बताए। थलारा गाउँपालिकामा ६७ वटा घर भत्केको र १२ वटा घर चर्किएको छ ।
यस्तै, जयपृथ्वी नगरपालिकामा २९ वटा घर भत्किएको र ४८ वटा घर चर्किएको छ । बुङ्गल नगरपालिकामा २ वटा घर भत्किएको छ भने २ वटा घर चर्किएको छ ।
यस्तै, विथ्थडचिर गाउँपालिकामा एउटा घर भत्किएको र एउटा घर चर्किएको छ । केदारस्युँमा एउटा घर र दुर्गाथलीमा ४ वटा घर भत्किएको छ । छविसपाथिभेरामा ७ वटा घर भत्किएको र ४० वटा घर चर्किएको छ ।
खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्किएको छ भने ४० वटा घर चर्किएको छ । मष्टामा ३ वटा घरमा पूर्ण क्षति, ५ वटा घर भत्किएको र एउटा घर चर्किएको छ भने तलकोट गाउँपालिकामा ३ वटा घर भत्किएको र ३ वटा घर चर्किएको छ ।