डडेल्धुरा : बझाङको जयपृथ्वी नगरपालिका–१० की राधा बोहरा मंगलबार घरको काम गर्दै थिइन् । २ बजेर ४० मिनेटमा अचानक उनको घर हल्ल्लियो । हतपत उनी बाहिर आइन् ।
‘भुइँचालो गएछ क्यारे सोच्यौं’ उनले त्यो क्षण सम्झिइन् । त्यतिबेलासम्म उनको घरमा अलिकता चिरा परेको थियो । तर, केही छिन पछि आएको अर्को धक्काले उनको घर तहसनहस भयो । ‘बाँकीको घर भत्किएको छ । बस्न पनि छैन । खान पनि छैन’ टेन्टमा बसिरहेकी उनले भनिन्, ‘अब सरकारले बनाइदिनुपर्छ ।’
यस्तै विपद् सोही ठाउँका गणेश बोहराको परिवारलाई पनि आइपरेको छ । ‘भूकम्पले बिजोग पारेको छ हजुर । मेरो घर पूरै भत्काएको छ’ उनी भन्छन्, ‘ भूकम्पले असुरक्षित भएका घरमा बस्नका लागि जान सकिने अवस्था छैन । पटकपटक पराकम्पन गइरहेको छ ।’ उनीपनि परिवारसहित राहतको पर्र्खाइमा छन् ।
योभन्दा ठूलो बज्रपात जयपृथ्वी नगरपालिका –११ मयाना (ओखल) टोलकी ५१ वर्षीया स्वर्गीय गुनमति धामीको परिवारलाई परेको छ । मंगलबार दिउँसो १ बजे घरबाट टिमुर टिप्छु भनि हिँडेकी गुनमति कहिलै नफर्कने गरि अस्ताएकी छिन् । घरबाट ५ मिनेट पर टिमुर टिप्दाटिप्दै भूकम्प आउँदा माथिबाट खसेको चट्टानसँगै उनी टुक्राटुक्रा भएर २०० मिटर तल पुगेकी थिइन् । तर, उनको शव त्यो दिन फेला परेन ।
असोज १७ गते अर्थात् भूकम्प गएको दोस्रोदिन बिहानैबाट प्रहरीसँग मिलेर गुनमतिको खोजी सुरु भएको थियो । उनको शव टिमुर टिपिरहेको स्थानबाट २०० मिटर तल भेटिएको थियो । गुनमती धामी विगत २९ वर्षदेखि स्वास्थ्य स्वयंसेविका बनेर सेवा गर्दै आएकी थिइन् ।
भूकम्प प्रभावित बासिन्दाको घरघरमा पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनर्निर्माणमा ढिलाई नहुने प्रतिवद्द्ता जनाएका छन् । बिहीबार उनले घाइतेको उपचार, राहत तथा पुनर्निर्माणमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।
यस्तै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल पनि भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।
मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो । पहिलोपटक २ बजेट ४० मिनेटमा जिल्लाको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुर आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियोे । सोही भूकम्पमा परेर बझाङमा एकजनाको मृत्यु भयो भने, सुदूरपश्चिमभर २७ जना घाइते भए ।
प्रदेशभर घाइते भएका २७ मध्ये सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै ३०१ घरमा आंशिक क्षति पुगेको बताइएको छ ।
मंगलबारपछि बझाङमा लगातार पराकम्पन गइरहेका छन् । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार हालसम्म बझाङमा ३३५वटा पराकम्पन गइसकेका छन् ।
विभिन्न अध्ययनहरुले सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको देखाएका छन् । पछिल्लो ५१८ वर्ष अर्थात् १५६२ सालदेखि नेपालको गोरखादेखि पश्चिम भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा ठूलो भूकम्प गएको छैन । ऊर्जाको ठूलो सञ्चिति भएकाले यो क्षेत्र भूकम्पको अति जोखिमका रुपमा रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
गत वर्षको भूकम्पमा डोटीमा ६ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । गत वर्षको कात्तिक २२ गते राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्योबेला सिंगो सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशसंगै छिमेकी मुलुक भारतमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको मृत्यु भएको थियो भने, ७ जना घाइते भएका थिए । यस्तै जिल्लाका सयौं घर भत्किएका थिए । यस्तै २०३७ सालमा बझाङलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब २५ सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।
१३ वर्षमा १०९ धक्का
राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार सुदूरपश्चिममा पछिल्लो १३ वर्षमा ४ रेक्टर स्केल माथिका १०९ भूकम्प गएका छन् । सन २०११ मा दार्चुला केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । यस्तै २०१२ मा दार्चुला नजिक भारततर्फ ५ र सोही वर्ष बझाङमा ५.६ रेक्टरको भूकम्प गएको थियो । २०१३ मा भने बाजुरामा ५.५ रेक्टरको भूकम्प गएको थियो । यस्तै २०१५ मा बाजुरामै ५.५ रेक्टरको भूकम्प गएको थियो । यस्तै बझाङमै २०१६ मा ५, बझाङमै २०१७ मा ५.७, २०२२ मा डोटीमा ५.७ र सोही वर्ष डोटीमै ६.६ रेक्टरको भूकम्प गएको थियो ।
मापन केन्द्रका अनुसार सन् २०२३ मा बाजुरामा दुईपटक ५.२ र ५.९ रेक्टर स्केलका भूकम्प गएका छन् । यो वर्ष(२०२३) मा बझाङमा ४ रेक्टर स्केलभन्दा माथिका १३ भूकम्प गएको तथ्यांकले देखाएको छ ।
के भन्छन् विज्ञ ?
पछिल्लो पाँच वर्षमा मात्र सुदूरपश्चिमका पहाडी जिल्लामा सानातिना दर्जनौं भूकम्प गएका छन् । पश्चिम नेपालको जमिनमुनि भूकम्प ल्याउने शक्ति लामो समयदेखि सञ्चित भएर बसेको भूकम्पसम्बन्धी अध्येता दिनेशराज जोशी बताउँछन् । ‘सुदूरपश्चिममा भूकम्प आउने जोखिम बढी छ । यहाँको क्षति न्यूनीकरणका लागिसमेत कुनै अध्ययन भएको देखिँदैन’ उनले भने ।
विज्ञहरुले सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताइरहे पनि प्रदेश र स्थानीय सरकारले जोखिम न्यूनीकरण र सचेतनामा भने ठोस काम गर्न सकेका छैनन् । सुदूरपश्चिमका अधिकांश बस्ती पुराना छन् । पुराना संरचना भएकाले भूकम्पले बढी क्षति पु¥याउन सक्छ । तर सम्भावित क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिइएको छैन ।
डडेल्धुराको अमरगढी नगरपालिकाका इन्जिनियर कवीन्द्रराज भट्टले तोकिएका मापदण्डअनुसार भवन निर्माण गर्न आग्रह गर्दै आएको बताए । तर, नक्सा पासबिनै घरहरु निर्माण कार्य तीव्र रहेको र स्थानीय तहको अनुगमन पनि फितलो रहेको गुनासो धेरैको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार पश्चिम नेपाल भूकम्पीय जोखिममा परेको क्षेत्रअन्तर्गत पर्दछ । सुदूरपश्चिममा करिब ५ सय वर्ष अघिबाट भूकम्पीय शक्ति सञ्चित रहेकाले भूकम्पको जोखिम बढी रहेको उनी बताउँछन् । अधिकारीका अनुसार पश्चिम क्षेत्रमा स–साना भूकम्पहरु जाँदैमा ठूलो जोखिम भने हट्दैन ।
एक रेक्टर स्केलको फरक पर्दा ३२ गुणा बढी भूकम्पीय शक्ति आवश्यक पर्ने भएकाले स–साना भूकम्पले जोखिम नहट्ने उनी बताउँछन् । ‘भूकम्पमा एक रेक्टर स्केलको फरक पर्दा ३२ गुणा बढी शक्तिको फरक पर्छ । त्यसैले पश्चिम क्षेत्रमा ठूलो मात्रामा सञ्चित रहेको शक्ति खर्च हुनका लागि स–साना भूकम्प हजारौँ जानु आवश्यक पर्छ’ उनले भने ।