धनगढीः कैलालीमा सरकारी गाडीको दुरुपयोग बढ्दै गएको पाईएको छ। सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडी कैलालीमा जनप्रतिनिधि र कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेकाे हो ।
आज (शनिबार) मात्र कैलालीका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ८ वटा गाडी नियन्त्रणमा लिएको छ। शनिबार सरकारी गाडी व्यक्तिगत कामका लागि धेरै चलेको स्थानीयले बताएका छन्। कतिपय सरकारी कामका बेलासमेत कर्मचारीले साधन नपाउने गरेको गुनासो उस्तै छ। तर कैलालीमा कतिपय अध्यक्षहरूले लिएका बाइकहरू कहाँ छन् कुनै पत्तो छैन। कर्मचारीले खोजीनिती गरे दबाब आउँने एक कर्मचारीले बताए ।
सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ। सरकारी कामबाहेक शनिबारको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियमको सरोकारवालाले नै उल्लंघन गरेका छन्। अति आवश्यक कामका लागि प्रशासन कार्यालयको अनुमतिले मात्र सरकारी कामका लागि सञ्चालन गर्न पाउने व्यवस्थाविपरीत कार्य हुने गरेको छ। तर शनिबार कैलालीको धनगढीबाट मात्र चारवटा सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
क्रान्तिकारी युवा संगठन नेपाल, कैलालीले मात्र आज बिदाको दिन अछाम जिल्ला खानेपानी कार्यालय र पहलमानपुर डिभिजन बन कार्यालयको गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कैलालीलाई हस्तान्तरण गरेको छ। जिल्लाका विभिन्न स्थानबाट गरी ८ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।