धनगढी : कैलालीमा ट्रकसहित झण्डै दुई लाखरुपैयाँ बराबरको अवैध तरकारीसहित एक जना ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ चटकपुरको दक्षिणकाली क्षेत्रबाट सोही ठाउँ बस्ने ४७ वर्षीय संतिश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले नेपालगंजको रुपडिया नाकाबाट युपी ७६ के ८२१४ नम्बरको भारतीय ट्रक र भारत घर भएर धनगढी बस्ने चालक गुप्तालाई नियन्त्रणमा लिइएको बताए ।
गुप्ताले ट्रकमा ल्याइरहेको ३० टन आलु मध्ये २६ टनको भन्सार काटेको देखिएपनि ४ टनको भन्सार नकाटेको देखिएपछि नियन्त्रण लिइएको चन्दले बताए ।
एक लाख ८० हजार रुपैयाँको आलु र २० लाखको ट्रक समेत गरेर २१ लख ८० हजारको समान नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।