कैलाली : कैलालीको जोशीपुर गाउँपालिका–५ का आशिष चौधरी इजरायलमै अस्ताएका छन्। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी मृत्यु हुने १० नेपालीको सूचीमा चौधरीको नाम पनि समावेश छ।
चौधरी गत २५ भदौमा इजरायल गएका थिए। मारिनेमा चौधरी पनि रहेपछि उनको परिवार विक्षिप्त छ। २५ वर्षीय चौधरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल गएका थिए।
चौधरीको मृत्युको खबरले उनका ७० वर्षीय बाजे कन्हैयालाल चौधरी चिन्तामा छन्। कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन्। आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिषले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला।’
आशिष उनको कान्छी छोरीको छोरा हुन्। छोरी–ज्वाइँ भारतको बैंङ्लोरमा बस्दै आएका छन्। आशिषको पालनपोषण बाजे कन्हैयालालले गरेका थिए। उनका दुई छोरी र एक छोरा छन्। तर, छोरा २०५४ सालमा प्यारालाइसिस भएर अपाङ्ग छन्।
उनको हेरचाह पनि कन्हैयालाल आफैले गर्नुपरेको छ। नाती आशिष उनको साहारा थियो। ‘आफ्नै काखमा खेलाए, हुर्काए, पढाए तर आज पापी दैवले चुडेर लग्यो। अब म कसको सहारामा बाचौं?’ नाती सम्झिँदै कन्हैयालाल भक्कानिए, ‘यो पापी संसारमा कसरी बाँचु?’
आशिष ११ महिनापछि इजरायलबाट फर्किने बाचा गरेर गएका थिए। शनिबार इजरायलमा हमासले आक्रमण गरेको सुनेदेखि नै नातीको अवस्थाबारे चासो लिएका उनले अरुबाटै मृत्युको खबर थाहा पाए। आशिष अब कहिल्यै नफर्किने भएका छन्।
कन्हैयालाल नातीको सास नभए पनि अन्तिम पटक लास हेर्न चाहन्छन्। इजरायलमा रहेको नातीको लास ल्याउने प्रबन्ध मिलाइदिन उनले सरकारसँग आग्रह गरेका छन्।