काठमाडौं : एक महिनाअघि प्रयोगात्मक अध्ययनका लागि इजरायल पुगेका दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि हमासको आक्रमणमा परी मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका-४ का वडाध्यक्ष धनसिंह धामीका अनुसार लोकेन्द्रले १२ कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका हुन्।
उनले टीकापुरबाट बिएस्सी एजीसम्मको पढाइ पुरा भएपछि थप अध्ययनका लागि सुदूरपश्चिम विश्वविद्यालय गएका थिए। त्यहीँबाट एक महिनाअघि इजरायल गएका हुन्।
‘लोकेन्द्रको खबर सुनेर हामी शोकाकुल छौं’ वडाध्यक्ष धामीले भने । सोमबार दिउँसो मृतक लोकेन्द्रका परिवारलाई जिल्लाबाट सिडिओ, जिल्ला प्रहरी प्रमुखसहितको टोलिले भेट गरेको वडाध्यक्ष धामीले बताए । उनले भने,‘उनका बुवाले अहिले पनि खेती किसानी गरेर घरको गुजारा चलाइराख्नु भएको छ। छोरालाई कृषि वैज्ञानिक बनाउने उहाँको धोको थियो। इजरायलमा समाप्त भयो।’
लोकेन्द्रका दाजु नेपाली सेनामा छन्। उनी परिवारका कान्छा छोरा हुन्। निम्न आर्थिक अवस्थाका उनले केही समय गाउँकै विद्यालयमा पढाएका थिए। उनका श्रीमती र छोराछोरी छन्।
शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो। ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।