धनगढी : हमासको आक्रमणमा परि सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीले ज्यान गुमाए। प्रवेश २० भदौमा घरबाट इजरायल जानका लागि निस्केका थिए।
छोरो इजरायल जाने भएपछि बुबा चक्रबहादुर र आमा चन्द्रिका निकै खुसी भए थिए। नहुन् पनि कसरी जाँदै गर्दा प्रवेशले भनेका थिए, ‘अब हजुरहरुका दुःखका दिन गए। म कमाउने भैसकेँ, ढुक्क हुनुस् म ११ महिनापछि फर्केर एउटा कृषि फार्म खोल्छु कि हाकिम बन्छु।’
तर, दैवको लेखा घरबाट गएको महिना दिनमै चक्रबहादुर र चन्द्रिकाको खुसी खोसिएको छ। सुन्दर भविष्यको लागि संघर्ष गरिरहेका प्रवेशल शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा मृत्यु भयो।
प्रवेशको मृत्युसँगै यतिबेला साहुटोल शोकमा डुबेको छ। प्रवेश घरका एक मात्र छोरा थिए, उनकी दिदीको विवाह भइसक्यो। त्यसैले, चक्रबहादुर र चन्द्रिकाका सहारा भनेकै प्रवेश मात्र थिए। २० भदौमा सल्यान घरबाट निस्किएका उनी २६ भदौमा इजरायल पुगे।
उनीसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकाय सकेर काम सिक्न इजरायल पुगेका थिए। प्रवेशको मृत्युको खबर उनको परिवारले आइतबार साँझ ७ बजेतिर थाहा पाए। अहिले उनकी आमा चन्द्रिका र दिदी प्रतिक्षा अचेत अवस्थामा छन्।
प्रवेशका सानिमा शोभा लामिछानेका अनुसार प्रवेशको लक्ष्य र उद्देश्य भनेको जागिर गरेर बुबाआमालाई सुःख दिने थियो।
‘मम्मीबाबा गरिब, दुःखी हुनुहुन्छ। गाउँमा अलिअलि कृषि गर्नुहुन्छ। त्यसबाहेक अरु केही छैन। जागिर छैन, केही छैन। ज्याला मजदुरी गरेर खानुहुन्छ,’ शोभा भन्छिन्, ‘बाबुले तपाईहरु बसी बसी खाने दिन आउँछ, म आएर एउटा कृषि फार्म खोल्छु। नभए लोकसेवामा नाम निकाल्छु र हाकिम बन्छु भन्थ्यो। सबै सपना भयो।’
उनी सुदूरपश्चिम विश्वविद्यालयबाट चार वर्षे कोर्ष सकाएर ११ महिनाका लागि इजरायल गएका थिए। कैलालीमा कोठाभाडा लिएर निकै संघर्षका साथ पढिरहेका थिए उनले।
लगनशील भएर नै होला, प्रवेशले बीएस्सी एजी पढ्दासम्म पनि शुल्क तिर्न परेको थिएन। स्कलरसिपमै अध्ययन गरिरहेका थिए। शोभाका अनुसार प्रवेशको एउटा सपना थियो, घर बनाउने। आमाबुबाले एक्लो छोरा भएकाले विवाह गर्न भन्थे। तर, प्रवेशले कमाई गरेर घर बनाएपछि मात्रै विवाह गर्ने बताउँथे।
भण्डारी परिवारको अपेक्षा अहिले लास भएपनि देख्न पाइयोस् भन्ने छ। परिवारले सान्त्वना दिन आउनेहरुसँग शव जतिसक्दो घरसम्म ल्याउनका लागि पहल गरिदिन आग्रह गरिरहेका छन्।