धनगढी: डडेल्धुराकी एक युवतीको अश्लील भिडिओ दृश्य सार्वजनिक गरेर चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। आइतबार परशुराम नगरपालिका एक नाबालकविरुद्ध अश्लील (नग्न) भिडिओ सार्वजनिक गरेको आरोपमा उजुरी निवेदन परेको हो।
स्थानीय पीडित १७ वर्षीया नाबालिका आफन्तले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।
करिब एक महिनाअघि ती नाबालिकाको प्रेमीसमेत रहेका ती नाबालकले सो भिडिओ फेसबुक, म्यासेन्जर च्याटमा सार्वजनिक गरेर भाइरल बनाएको बुझिएको छ। प्रेम सम्बन्धमा रहेका उनीहरुबीच खटपट भएपछि आफूसँग रहेको अश्लील भिडिओ आउट गरेको बताइन्छ।
ती १७ वर्षीय नाबालक परशुरामकै एक वडाका अध्यक्षका छोरासमेत रहेको खुलेको छ।
यता प्रहरी स्रोतले भने ती नाबालकले भने आफू धनगढीमा रहेको जनाउदै भिडिओ सार्वजनिक प्रकरणमा निर्दोष रहेको दाबी गरेको जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।