काठमाडौं : नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको सेवाअवधि थप भएकाेमा पूर्व जर्नेलहरूले आपत्ति जनाएका छन्। सचेत नागरिक, वीरगति प्राप्त सैनिक परिवार र पूर्वसैनिकहरूले विज्ञप्ति जारी गर्दै सेवाअवधि थप गर्नु गलत भएको बताएका छन्।
सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई नियमविपरीत दोस्रोपटक राजनीतिक जोडबलमा उनको पद तीन वर्षका लागि थप गर्ने निर्णय गरिएको थियो।
विज्ञप्तिमा उक्त अवधि थप गर्नुलाई नियमविपरीत भनिएको छ। नेपाली सेना राजनीति नगरी नेपालवाद मात्र बुझ्ने संस्था भएकाले निर्णय तत्काल फिर्ता लिन तथा यस्ता खालका कार्य नगर्नसमेत विज्ञप्तिमा भनिएको छ।
माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई सहायक रथीको विशेष पद सिर्जना गरेर बढुवा गरेको थियो।
चार वर्षका लागि गरिएको बढुवा गत कात्तिक १ गते सकिने अवस्थामा माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला उनको पद थप तीन वर्षका लागि थप्ने निर्णय भएकाे थियो। सरकारको यस निर्णयप्रति नेपाली सेनाभित्र चर्को असन्तुष्टि देखिएको थियो।
अहिले यमबहादुरको सेवाअवधि थपिएकाेमा पनि जंगी अड्डाभित्र सैनिक अधिकारी असन्तुष्ट छन्। स्रोतकाअनुसार जंगी अड्डाभित्र सैनिक अधिकारीहरु असन्तुष्ट हुँदा–हुँदै प्रधानमन्त्री प्रचण्ड नजिक हुनका लागि प्रधान सेनापति प्रभुराम शर्माले यमबादुरको सेवा अवधि थपका लागि फाइल बढाएका थिए।
संगठनभित्र अन्य काविल संनिक अधिकारीलाई पाखा लगाएर नियमविपरीत प्रधान सेनापति शर्माले यमबहादुरको सेवा अवधि थपेकोमा विरोध जनाएका छन्।