काठमाडौं: सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धारपछि परराष्ट्र मन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिएका छन् ।
उद्धार गरि ल्याइएको भिडमा कञ्चनपुरको महेन्द्रनगरकी श्वेता भट्ट पनि थिइन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि उनले इजरायलको लडाइँ प्रत्यक्ष हेरेको बताइन् ।
उनले भनिन्, ‘एकदमै खुसी छौं । म त यो प्रक्रिया एकदमै लामो हुन्छ, हामीलाई एकदमै गाह्रो हुन्छ नै सोचिराको थिए । किनभने अझ धेरै देशहरुले आफ्ना नागरिकहरुलाई उद्धार गरिसकेको छैन । तर, हाम्रो देश भने अगाडि सरेर सोचेकै समयमा हामीलाई फिर्ता ल्याइदियो । एकदमै खुसी लागेको छ । ल बाचियो भन्ने फिल भएको छ । अब आफ्नै क्षेत्रमा केही गर्नेछौ । अरु पनि आउन चाहानेको छिटो उद्धार होस् भन्ने चाहान्छु ।’