धनगढी : गत भदौमा कैलालीका धनबहादुर चौधरी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत इजरायल गएका थिए। उनी किबुजस्थित एक कृषि फार्ममा आफ्ना १६ जना नेपाली विद्यार्थी साथीहरूसँगै काम गर्दै आएका थिए।
शनिबार बिहान साथीहरू सँग बसिरहेको समयमा बिहान करिब ८ बजे हमासले आक्रमण गर्यो। आक्रमणमा परेर धनबहादुर घाइते भए। साथीहरू नारायणप्रसाद न्यौपाने, आशीष चौधरी, दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलासा, पदम थापा र प्रवेश भण्डारीको ज्यान गयो।
अन्य तीन जना घाइते भए। दुई जना भने सकुशल छन्। बंकर भित्र लुकीरहेको अवस्थामा उनीहरू माथि हमासले आक्रमण गरेको थियो।
हमासको अप्रत्याशित आक्रमणपछि अटोमेटिक बजेको इजरायलको साइरनपछि नेपाली विद्यार्थीहरू बङ्करमा सुत्न गएका थिए। तर, बङ्करमा पनि उनीहरू बाँच्न सकेनन्।
केही समयमा घटनास्थलमा पुगेका इजरायली प्रहरीले सकुशल रहेका मान्छेलाई अर्को बंकरमा सारे भने घाइतेलाई त्यहीँ बंकरमा छोडिदिए। त्यसपछि भने हमासले आक्रमण् गरेन र चौधरी बाँच्न सफल भए।
युद्धग्रस्त देश इजरायलबाट उद्धार गरेर आज बिहान ल्याइएका नेपाली विद्यार्थीहरूमध्ये हिँड्नै नसक्ने अवस्थामा धनबहादुर चौधरी देखिए। प्यालेस्टाइनी लडाकु समूह हमासले विस्फोट गराएको ग्रिनेटको छर्रा उनको खुट्टाको ठाउँठाउँमा थिए।
उनको घुँडामा पनि गम्भीर चोट परेको छ। यसले गर्दा उनी हिँड्न सक्ने अवस्थामा छैनन्। तर, पनि इजरायलको एक अस्पतालमा पाँच दिन उपचारपछि उनी डिस्चार्ज भए।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार नेपाल एयरलाइन्सको जहाज लिएर इजरायलको तेल अभिभ विमानस्थल जाँदा सोही जहाजमार्फत् चौधरी पनि नेपाल आएका हुन्।
उनी ह्वील चेयरको सहायतामा विमानस्थलबाट बाहिरीएका थिए। सञ्चारकर्मीसँग बोल्दै चौधरी निकै भावुक बने।
मृतक साथीहरूलाई उनले भने, ‘साथीहरूको बोलीको खुब याद आउँछ। राति राम्ररी सुत्न सक्दिन। सपनामा साथीहरू भेटिन्छन्। रगतको नदी बगेको देखिन्छ।’