धनगढी: नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। यहीँ असोज २४ गते बुधबारका दिन जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाहरुको चलखेल र रजगज स्पष्ट पारेको छ।
बुधबार अघिसम्म नियमित काम गरिरहेका मेसु डा. नवराज जोशीको सट्याकसुटुक बिनाकारण काज फिर्ता गरिएको हो। अस्पताल स्रोतका अनुसार मेडिकल माफिया र औषधि आपूर्तिकर्ताहरुको दबाबमा अस्पतालका चिकित्सकिय सेवा नै बन्द हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरिएको हो।
सुदूरपश्चिमका ठूला मेडिकल माफिया मानिने दुष्यन्त बस्नेत र मुरलीधर जोशीसहितको दबाब र स्वास्थ्य मन्त्रीको सचिवालयको निर्देशनमा मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार डाक्टर जोशीको मन्त्रालयमै काज फिर्ता गराइएको स्रोतको दाबी छ। डाक्टर जोशी संघ अन्तरगत दरबन्दी रहेका बझाङ अस्पतालका एकमात्र स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन्।
१५ महिना अघिमात्रै उनलाई बझाङ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाइएको थियो। उनलाई मन्त्रालय तानेपछी बझाङ अस्पतालको प्रसुती सेवासहित प्रशासनिक काम प्रभावित बनेको छ।
उसैपनी दुर्गम मानिने बझाङमा विशेषज्ञ जनशक्ति जानसमेत नमान्ने अवस्था छ। त्यसमाथि झन राजनैनिक दबाब र माफियाहरुको हस्तक्षेपका कारण चिकित्सकलाई टिक्न समस्या भैरहेको बताइन्छ।
सुदूरपश्चिम प्रदेशकै दुर्गम मानिने बझाङ, बाजुरामा स्वास्थ्य र जनस्वास्थ्य क्षेत्र यसैपनि लथालिङ्ग छ। त्यसैमा झन केहीसमयदेखि लगातार बेला-बेला गैरहेको भूकम्पले पनि झन सकस परेको स्थानीयले बताएका छन्। छिनछिनमा बझाङबासीलाई झस्काइरहेको भूकम्पका कारण अस्पतालको सेवा प्रवाह र दैनिक काम पनि संकटमा परेको हो। यसैबेला मन्त्रालयले बिनाकारण अस्पतालका सेवा प्रभावित हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरेपछि थप समस्या भएको अस्पतालका निमित्त मेसु डा. इन्द्र शाहले जानकारी दिए। अहिले आफूले नै अस्पताल प्रशासन सम्हालिरहेको उनले बताए।
एकमात्र विशेषज्ञ चिकित्सक रहेको बझाङ अस्पतालका डाक्टर जोशीलाई मन्त्रालय तान्दा प्रसुती शल्यक्रियासहितका सेवाहरु बन्दजस्तै छन्। यस्तै सुत्केरीका जटिल अपरेसनहरु पनि बन्द भएको बुझिएको छ। सेवा बन्द हुँदा बझाङसहितका अन्य जिल्लाका सेवाग्राहीलाई समेत मर्का परेको छ।
समाचार स्रोतको जानकारी अनुसार डाक्टर जोशीले मेडिकल व्यवसायीका बिलहरु र प्रदान गरिएका उपकरणसहितका सामाग्रीमा गुणस्तर, पारदर्शिताको कुरा उठाउदा काज फिर्ता गराइएको हो। डा. जोशीले पनि केही व्यवसायीको इन्ट्रेस्टमा आफ्नो काज फिर्ता भएको बताएका छन्। मेडिकल आपूर्तिकर्ताहरुलाई गुणस्तरीय उपकरण तथा सामाग्री माग गरेर भुक्तानीमा कडाइ गर्दा राजनैनिक पहुँचका भरमा आफ्नो काज फिर्ता गरिएको उनको बुझाई छ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने आफूलाई काज फिर्ता किन गरियो ? भन्ने विषय थाहा नभएकाले प्रशासनलाई बुझ्नुपर्ने बताए।
गत आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो बनेको थियो।