धनगढी: बैतडीमा मिनिट्रकमा सवार बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा चालकसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९नम्बरको मिनिट्रक र सोही ट्रकका चालक मेलौली नगरपालिका–७ का महेश ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको र ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए।
करणीमा परेकी ती बालिका अत्तरियाबाट बैतडी आउन भन्दै मिनिट्रकमा बसेकी थिइन्।
बिहीवार राती बुडरमा बस्ने क्रममा मिनिट्रकमा आफूमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको भन्दै ती बालिकाले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको बुझिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।