काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ ।
शुक्रबार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन् ।
पुस्तक लोकार्पण गर्दै उनले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक रूपमा चित्रण गरेको बताइन् ।
उनले उपन्यासका पात्रहरुको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरुको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गरेको उल्लेख गरिन् ।
त्यस्तै पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्त रुपमा प्रश्तुत गरेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसकेको चन्दको यस प्रकारको सक्रियताबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताइन् ।
लोकार्पण समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुंग्याएको बताए । उनले उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको बताए । उपन्यास ‘अपराजिता’ सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो ।