काठमाडौं : गैरीगाउँ सामूहिक हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा राखिएको छ । अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै भण्डारीलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो ।
गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो ।
गोलघरभित्रका कैदीबन्दीले अन्य कैदीबन्दीले जति सुविधा पनि पाउँदैनन् । उनीहरुले अन्य कैदीबन्दीले जति भेटघाट समेत गर्न पाउँदैनन् भने फोन सम्पर्क गर्दा पनि प्रहरीको निगरानीमा उनीहरुकै अगाडि मात्रै फोन गर्न पाउँछन् ।
तीनकुने हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा पनि ढोका थुनेर राख्ने तयारी गरिएको छ । उनलाई विशेष निगरानीमा राख्नुपर्ने सुझाव आएको भन्दै शनिवारबाट ढोका नै थुनेर राख्ने र शौचालय जाने समयमा मात्रै ढोका खोल्ने विषयमा कुराकानी भइरहेको छ । शौचालय जाँदा वा परिवारका सदस्यसँग भेटघाट गर्दा पनि दुई जना सुरक्षाकर्मी साथमै रहनुपर्ने गोलघरको नियम छ ।
कारागार ऐन, २०७९ को दफा १८ मा ‘विशेष सुरक्षा कक्षको व्यवस्था गरिने’ प्रावधान छ । सुन्धारास्थित कारागार कार्यालयमा गोलघर भन्ने विशेष सुरक्षा कक्षा छ भने अन्य कारागारमा अन्य नामबाट त्यस्तो कक्षा स्थापना गर्ने व्यवस्था छ ।
गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।