कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको छ। शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको हो।
भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि बेलौरी स्थानीय सरकारले लागुऔषधविरुद्धको अभियान सुरु गरेको छ। लागुऔषध विरुद्धको महाअभियान उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरमा बेलौरीजस्तै अन्य पालिकाहरूले समेत अभियान सञ्चालनमा जोड दिए।
सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकारबाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा सुदूपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भारत बोहोराले पछिल्ला दिनमा सुदूरपश्चिममा लागुऔषध भयाभह अवस्थामा रहेको औँल्याए। उनले लागुऔषध नियन्त्रणका लागि प्रहरीले यस्तै पालिका सरकारसहितका सरोकारवालासँगको सहकार्यमा कार्यक्रम गरेर नियन्त्रण गरिरहेको बताए।