काठमाडौं: कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन्। कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो।
मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए। शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए।
तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन्। सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए।
मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन्। शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए।
कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्री दाबी गरेका थिए।