बाजुरा : बाजुरामा रहेका खाद्य डिपो नाम मात्रैका रहेका छन्।
दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले बाजुराका विभिन्न ठाउँमा खाद्य सामग्री वितरण गर्ने भनेर व्यानर टाँसे पनि ती ठाउँमा केही नपाउने गरेको हो।
बाजुराको कोल्टी कवाडी लगायतका खााद्य डिपोहरू बन्द गरिएका छन्। बाजुराको कोल्टी क्षेत्र झन खाद्य संकट हुने क्षेत्रको रूपमा रहेको भए पनि सो क्षेत्रका खाद्य डिपोहरूमा चामल नभएको खाद्य व्यापार कम्पनी बाजुराका प्रमुख मेखराज ओझाले बताए।
‘कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर गोदाम बन्द छ। कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रमा समेत चामल छैन्,’ ओझाले भने, ‘माथिबाट निर्देशन आए बमोजिम गोदाम बाहिर ‘सुपथ मूल्य पसल’को ब्यानर झुन्ड्याइएको हो।गोदाममा चामल छैन्।’
सदरमुकाम मार्तडीस्थित खाद्य कम्पनीमा व्यानर टाँस गरिएको भए पनि सो खाद्य कम्पनीमा रहेको चामल सर्व साधारणले किन्न सकिरहेका छैनन्। स्थानीयको क्षमता भन्दा बढी मूल्य भएपछि दैनिक तीन सयबढी नागरिक रित्तो हात फर्किने गरेका छन्।
मार्तडीको डिपोमा ५ सय कुइन्टल चामल आएको छ। सदरमुकाम मार्तडीसम्म सरकारी अनुदानको चामल ९२ रुपिया प्रति केजी अर्थात २५ किलोको कट्टामा २ हजार ३ सय मूल्यमा पुग्यो हाल सौलियत दिँदा २ हजार १ सय ५० छ।
काठमाडौं सहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल एकैपटक सञ्चालनमा ल्याइएको छ। आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ।
प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ। सुपथ पसलमा मासुजन्य वस्तुमा १० रुपैयाँ, खाद्यान्य सामग्री र तेलमा सात रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।