काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरको ल्याबमा प्रयोग हुने किट खरिदमा अनियमितता गरेको भन्दै सेन्टरका प्रमुख डा. बद्री रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
रिजालले रोग पत्ता लगाउन प्रयोग हुने ल्याबको किट खरिदका लाग रिएजेन्टको मिलेमतोमा भ्रष्टाचार गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई दिने गरी टेण्डर खुलाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
अख्तियार स्रोतका अनुसार भदौ २० गते खुलाइएको टेण्डरको अन्तिम म्याद भने यही असोज १९ गते रहेको छ । रिजाल ल्याबका विभिन्न ३४ किसिमका सामानहरु खरिदका लागि आफूनिकट व्यवसायीलाई मात्रै हुने गरी विश्व स्वास्थ्य संघको प्रिक्वारिफाइड भनेर माग गरिए पनि भारतबाट उत्पादित सामाग्री ल्याउने गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई खरिद गर्न दिई करोडौं भ्रष्टाचार गर्न लागेको जनाइएको छ ।
साथै डा. रिजालले नियुक्त भएपछि यसअघि पनि बिरामीहरुलाई निजी अस्पताल जान बाध्य बनाउने, विरामीको उपचारका लागि प्रयोग हुने विभिन्न सामाग्रीहरु आफू निकट व्यवसायीको माध्यमबाट खरिद गर्न लगाउनेलगायतका कार्य गरेको जनाइएको छ ।
डा. रिजाल निर्देशकमा नियुक्ति भएपछि पनि आफ्नै निजी अस्पतालमा बिरामी जाँच्न जाने गरेको समेत आरोप लाग्ने गरेको छ । साथै उनले व्यवस्थापनको जानकारी बिना कर्मचारी नियुक्त गर्ने, आफू निकटलाई टेण्डरका लागि सेटिङ गर्ने गरेको पनि वीर अस्पतालका एक कर्मचारीले बताए ।
त्यसबारेमा डा. रिजालसँग सम्पर्क गर्न खोज्दा भने सम्पर्क भएन ।