काठमाडौं : नेपाली काँग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । पार्टी प्रदेश सभापति समेत रहेका थापाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।
कार्की बागी उम्मेदवार बनेर मुख्यमन्त्री नियुक्त भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । काँग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गरेको थियो ।
थापा यसअघि दुई पटक मुख्यमन्त्री बनेपनि सर्वोच्चको आदेशपछि पदमुक्त भएका थिए । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिने प्रयास गरेपनि उनलाई ४७ मत नपुगेकाले पदबाट हटेका थिए ।
यसैबीच प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्ता गठबन्धनको समर्थन रहने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा बोल्दै प्रधानमन्त्री दाहालले गठबन्धनको साझा उम्मेदवार नै मुख्यमन्त्री कार्की रहने र विश्वासको मत दिने उल्लेख गरेका हुन् ।