धनगढी : बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेहरो भूमिका दिइएको छ। सिगास गाउँपालिकाको पनि प्रमुख को जिम्मेवारी दिइएका अवस्थीलाई डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ।
शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ।
भौगलिक रूपमा विकट बैतडीका तीन वटै पालिकामा प्रशासकीय अधिकृत अवस्थीले जिम्मेवारी बहन गर्न सक्लान् वा सक्दैनन् ? भनेर चासोका साथ हेरिएको छ। कतिपयले तीन वटा पालिकाको जिम्मेवारी किन लिएको भनेर उनीमाथि प्रश्न गरिरहेका छन्।
तीन वटा पालिकाका जिम्मेवारी पाएपछि के भन्छन् त अवस्थी ?
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेकै अवस्थामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई सिगास गाउँपालिकाको पनि जिम्मेवारी दियो।
अवस्थीका अनुसार सिगासमा केही समय जिम्मेवारी बहन गर्न सकिने बताएपछि उनलाई मन्त्रालयले जिम्मेवारी दिएको हो। डिलासैनिमा पनि कर्मचारीको तलब भत्ता खुवाउन समस्या भएकाले मन्त्रालयबाट फोन गरेर जान निर्देशन आएको उनी बताउँछन्।
‘सिगासमा केही समयको लागि भनिएको थियो। मैले हुन्छ भनेको हुँ। फेरि मन्त्रालयबाट फोन गरेर डिलासैनीमा पनि तबल खुवाउनसम्म गर्नु पर्छ भन्यो,’ उनले भने, ‘मैले त सकिँदैन भनेको पत्र आइहाल्यो।’
अवस्थीलाई तीन वटा पालिकाको जिम्मेवारी आएपछि उनी सदरमुकाममा बसेर काम गर्ने मनसायमा छन्। ‘डिलासैनीबाट तलब भत्ताका कागजपत्र ल्याउन भनेको छु, त्यहाँ जान सकिँदैन, टाढा पनि छ। पालिकामै पुगेर त काँ सिगास, सुनर्या र डिलासैनी सकिन्छ त ?,’ उनले भने।
सम्बन्धित समाचार
बैतडीमा हाकिम अवस्थीको मस्ती, ३ पालिकातिर गस्ती
बैतडीमा दुई पालिकामा एउटै व्यक्ति प्रमुख प्रशासकीय अधिकृत !