काठमाडौं : सरकारले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे जानकारी दिएकाे छ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्री श्रेष्ठ अहिले बाेल्न सक्ने हालतमा रहेकाे जानकारी दिइन्।
श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको उनकाे भनाइ छ।
‘गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ। उहाँलाई अचानक गएराति हृदयाघात भयो र उहाँकाे बेइजिङस्थित अस्पतालमा अप्रेशन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। केही दिन उहाँ उतै रहनुहुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ’, उनले भनिन्।
बेइजिङमा अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरेर श्रेष्ठकाे उपचार भइरहेकाे छ।
यो अस्पताल ग्रेट हल अफ द पिपुल्स नजिकै थ्यानआनमन आसपासमा रहेको छ।