काठमाडौं– नेपालमा हाज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार अहिले बिहान भने प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी तथा हिमाली भूभागमा चाहिँ आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ ।
यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। तर, प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।