डडेल्धुरा : स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ।
विभिन्न जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्। औपचारिक कार्यक्रमा भाषण गरेर दिन गुजारिरहेका छन्।
सरकारी खर्चमा किनेका गाडीमा इन्धन, चालक र मर्मत खर्च छुट्टै छ। तर, यी कुराभन्दा निकै फरक छन्, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ का वडाअध्यक्ष आसेफ कुँवर ‘भुन्टु’।
आसेफ कञ्चनपुरमा भुन्टुका नामले बढी परिचित छन्। भुन्टु कञ्चनपुर बासीका लागि नाैलो नाम होइन्। समाजसेवामा अग्रनी भुमिका खेल्दै आएका भुन्टु आफैंमा स्वच्छ र स्पष्ट वत्ता हुन।
नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् उनी। भीमदत्त नगरका गरिब, असहायका लागि उनी भगवान हुन भन्दा फरक नपर्ला।
नेपाली कांग्रेसको राजनीतिसँगै समाजका तल्लो तहसम्म भिजेका भुन्टु पार्टीभन्दा माथि उठेर समाजिक काममा सधैै खटिरहन्छन्। त्यति मात्रै होइन उनी आफ्नो तलब भत्ता बृद्धबृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई वितरण गर्छन्।
बिहीबार उनले यो वर्षको आफ्नो तलब भत्ता वडाका बृद्धबृद्धा र पूर्ण अपांगता भएका एक सय ६१ जनालाई वितरण गरे। नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा उनले आफ्नो वर्ष भरिको तलब भत्ता प्रत्येक वर्ष वितरण गर्दै आएका छन्।
भीमदत्त–१ का १४१ जना बृद्धबृद्धा र २० जना पूर्ण अपांगता भएका व्यक्तिलाई वडाध्यक्ष कुवँरले एक हजार पाँच सय रुपैँयाका दरले वितरण गरेका हुन्।
२०७४ सालको स्थानीय तहको चुनावमा वडाअध्यक्षमा निर्वाचित भएका कुँवरले आफ्नो कार्यकालको पूरै तलब भत्ता गरिब तथा असहायलाई सहयोग गरेका थिए।
‘मेरा वडावासी आमाबुवा तथा शारीरिक रुपले अशक्तलाई यो दशैंतिहारको समयमा अलिकति भएपनि खुसी दिलाउन सके’ उनले भने, ‘त्यो नै मरो लागि अमूल्य आशिर्वाद र धर्म हुन्छ।’
असहाय तथा दिनदुखीकाे सहारा बनेका वडाअध्यक्षलाई वडाबासी पनि राम्रो मान्छन्। ०७४ को स्थानीय तहको निर्वाचनमा १४१ को मतान्तरले वडाअध्यक्षमा विजयी भएका कुँवर ०७९ को स्थानीय तहको निर्वाचनमा ८८४ को मतान्तरले वडाअध्यक्षमा विजयी भएका थिए।
दुवै निर्वाचनको मतले पनि आफूले गरेको कामको मूल्यांकन गर्न सकिने बताउँछन् उनी। सय वर्ष पुगेका गम्भीर सिंह चैसिर भुन्टु जस्तो वडाअध्यक्ष पाउनु वडा बासीको साैभाग्य भएको बताउँछन्।
‘यस्ता वडाध्यक्ष पाउनु हाम्रो अहोः भाग्य हो। प्रत्येक वर्ष चाँडवाडका बेला भत्ता दिन्छन्, दुःख बिमारमा घरसम्मै समेत पुग्छन्। यीनि त मन्त्री हुनु पर्ने व्यक्ति हुन,’ उनले भने।
प्रत्येक व्यक्तिलाई पन्ध्र सयका दरले रकम हस्तान्तरण गरेको कुँवरको भनाइ छ। दशैंको समयमा त्यसैमा नयाँ नोट पाउँदा स्थानीय बासी खुसी थिए।
०७४ को स्थानिय निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेसबाट भीनपा–१ को वडाध्यक्षमा उम्मेदवारी दिएका कुवँरले आफ्नो तलब भत्ता नलिने घोषणा गरेका थिए।