अछाम : १९औं एसियाडमा क्रिकेटमा कीर्तिमान बनाएका दीपेन्द्र सिंह ऐरीलाई साँफेबगर नगरपालिकाले सम्मानसहित नगद प्रदान गर्ने भएको छ ।
साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले रेडियो जनप्रिय एफएमले आयोजना गरेको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा क्रिकेटमा कीर्तिमान बनाएका ऐरीलाई सम्मान सहित नगर ७५ हजार रुपैया सहयोग गर्ने घोेषणा गरेका हुन् ।
एसियाडमा ८ वर्षपछि पुनरागमन गरेको क्रिकेटमा दीपेन्द्रले ९ बलमा अर्धशतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाएका थिए ।सुरुको ६ बलमा लगातार छक्का प्रहार गरेका उनले दुर्लभ जस्तै रहेको कीर्तिमान आफ्नो नाममा बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक प्रहार गरेका थिए ।
नगर प्रमुख कुँवरले उक्त प्रतियोगितामा ऐरीले देशको स्वाभिमान उच्च राष्ट्रको गौरव बढाएका कारण खुसी लागेको बताए । आगामी दिनमा पनि यस्तै प्रगति र हौसलाको लागि नगरपालिकाबाट सहयोग गर्ने लागिएको उनको भनाई रहेको छ ।
यस्तै साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्माले खेलमा नयाँ उपलब्धि हासिल गर्न अब क्रिकेट पूर्वाधार विकास र खेलाडीमा लगानी गर्न ढिलाइ नगर्न सुझाव दिए । उनले खेलाडीको हौसलाको लागि सवैले सहयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।