कैलाली– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान स्थलको अनुगमन निरीक्षण गरेको छ । समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा जिल्लामा ५२ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएका छन् ।
त्यसैगरि संवेदनशील १ सय ३१ वटा र सामान्यमा ५३ वटा मतदान स्थलहरू निर्धारण गरिएको कैलालीका जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
मतदान स्थलको आधारमा सुरक्षाको व्यवस्था गरिने उनले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनलाई भयरहित र स्वतन्त्र रूपले सफल पार्न चारवटै सुरक्षा निकायले निगरानी गर्नेछन् ।
जिल्लामा ६ सय १९ वटा मतदान केन्द्र र २ सय ३६ ओटा मतदान स्थल कायम गरिएका छन् । कैलालीमा २ लाख ५६ हजार १ सय ४ जना पुरुष, २ लाख ६९ हजार १० जना महिला र ११ जना अन्य गरी जम्मा ५ लाख २५ हजार १२५ जना मतदाता छन् ।
सुदूरपश्चिम प्रदेशमा ११ सय ३५ मतदान स्थल र २ हजार १ सय ३ ओटा मतदान केन्द्र कायम गरिएको छ । प्रदेशभर ८ लाख ८० हजार ६ सय ८२ जना पुरुष, ८ लाख ३१ हजार ४ सय ७० जना महिला र १८ वटा अन्य गरी १६ लाख ३२ हजार १ सय ५२ जना मतदाता छन् ।