काठमाडौं : हमासको आक्रमणमा परी मारिएका ५ नेपालीको शव पहिचान गर्न आफन्तहरूको डीएनए इजरायल पठाइएको छ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी मारिएर ५ जना नेपाली विद्यार्थीको पहिचान गर्न उनीहरूका आमा बुबाको डीनएन स्वाब इजरायल पठाइएको हो।
मारिएका १० जना मध्ये ५ जनाको पहिचान भएर शव नेपाल ल्याइएको छ। तर, शवको पहिचान गर्न नसकिने अवस्थामा रहेका ५ जनाको शव पहिचान गर्न आफन्तको डीएनए पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
हमासको आक्रमणमा परी विभिन्न देशका नागरिकहरू मारिएका छन्। उनीहरूको शव पहिचान गर्न निकै गाह्रो भइरहेको छ। त्यसैले पहिचानका लागि भन्दै इजरायलले आफन्तको डीएनए मगाएको थियो।
उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थी मारिएका थिए।
उक्त आक्रमणमा परी मारिएका धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव पहिचान हुन सकेको छैन्।
उनीहरूको पहिचानका लागि आमा बुबाको डीएनए इजरायल पठाइएको हो। शवको डीएनए र नेपालबाट पठाइएको आफन्तको डीएनए म्याच खाएको खण्डमा शव नेपाल पठाइने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।