काठमाडौं : त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको हो।
पहिलो सात बल भित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन। पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो।
नेपालले ६ ओभरको पावर प्लेमा १ विकेटमात्र गुमाएर ५९ रन जोड्दै उत्कृष्ट सुरुआत गरेको थियो। आसिफ १२ बलमा ७ रन बनाई आउट भए। सातौं ओभरमा कुशल २ बल खेली १ रनमै आउट भए। दुवैलाई आयान अफजल खानले बोल्ड गरे।
कुशलले २८ बलमा अर्धशतक बनाए। त्यसको अर्को बलमा उनी आउट भए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले १७ बलमा १८ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाई आउट भए।
गुल्शन झाले ५ रनमात्र जोड्न सके। करण केसीले १७ बलमा २ चौका र १ छक्कासहित अविजित २३ रन बनाएपछि नेपालको स्कोर केही मजबुत बनेको हो। दुई सुन्दर प्रहार गरेका सोमपाल कामीले ८ बलमा १३ रन बनाए। सोमपाललाई पनि आयानले बोल्ड गरे।
आयानले ४ ओभरमा १९ रनमात्र खर्चे। जाहुर खान र अलि नासिरले २/२ विकेट लिए। जाहुरले ४ ओभरमा ३६ र नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए।
नेपालले डबल रान्ड रोबिनको खेलमा सबै चार खेल जितेर फाइनल यात्रा पक्का गरेको थियो। यूएईले एक खेलमा मात्र विजय हात पारे पनि नेपालसँग फाइनल खेल्न योग्य बनेको थियो। यूएईलाई बुधबार अन्तिम खेलमा हङकङले ६३ रनले पराजित गरेको थियो।