कैलाली : बाजुरामा पाँचौँ छेडेदह कप फुटबल प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुने भएको छ । छेडेदह स्पोर्टस क्लबको आयोजनामा गर्न लागेको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लको सर्वाधिक धनराशिको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
खेल अवधिभर खेल क्षेत्र आसपासका पसलहरू र बजार क्षत्रमा मदिरा बिक्री वितरणमा पूर्ण रुपमा बन्द गर्ने सहमति समेत भएको छ । आयोजक र स्थानीय व्यापारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूबीच भएको सहमति अनुसार खेल अवधिभर सात दिनसम्म मदिरा बिक्री वितरणमा गर्न रोक लगाइएको हो ।
भोलिदेखि सुरु हुने प्रतियोगिता १७ गतेसम्म जारी रहने छ ।प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ३५ हजार ३३५ रुपैयाँ घोषणा गरिएको छ । उपविजेताले १ लाख २५ हजार २२५ रुपैयाँ पाउने छन् । प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ ।
सुन्दर नगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवर्द्धनमा सघाउ पु¥याउने लक्ष्य सहित प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।
प्रतियोगिताबाट छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । २०७६ सालदेखि लगातार कपको आयोजना हुँदै आएको छ । प्रतियोगिताको उद्घाटन भोलि बिहान ११ बजे हुने जनाइएको छ । प्रतियोगितामा ११ टीम सहभागी हुने छन् ।