काठमाडौं : कैलालीको वसन्ता वन क्षेत्रमा एक पोथी पाटे बाघ देखापरेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ उक्त क्षेत्रमा आएको बताइएको छ। भरखरै सुत्केरी भएकी उक्त बाघ एक हप्ताअघि उक्त क्षेत्रमा प्रवेश गरेको स्थानीय संरक्षणकर्मी घनश्याम पौडेलले बताए।
पछिल्लोपटक सुर्खेतबाट आएका सिकारीले सोही क्षेत्रमा रहेको एक पाटे बाघलाई मारेको हुँदा यसपटक आएकी बघिनीको लोकेसन बताइएको छैन। साथै उनीसँग भएका डमरुको संख्या समेत खुलाइएको छैन।
बाघले भारतको जंगलमा डमरु जन्माएर हुर्काउन त्यहाँ आइपुगेको हुनसक्ने डभिजन वन कार्यालय कैलालीले जनाएको छ। बाघ पहिलोपटक सुत्केरी भएकाले उसले बच्चा स्याहार्ने तरिका सिकेको छैन। त्यस्तै उसले सुरक्षित बाटोका बारेमा समेत जानकारी नपाएकाले स्थानीयलाई सर्तकता अपनाउन वन कार्यालय कैलालीले आग्रह गरेको छ। डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने भन्दै सामुदायिक वनका चोरी सिकारी नियन्त्रण कार्यदलहरुले सर्तकता सन्देश प्रवाह गरिरहेका छन्।
पछिल्लोपटक कैलालीको वसन्ता वन क्षेत्रलाई बाघले डमरु हुर्काउन सुरक्षित क्षेत्र ठानेर त्यहाँ जाने गरेको छ।
फोटो : फाइल