काठमाडौं – सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् ।
सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यु टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ ।
आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ, राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्,’ झाँक्रीले भनिन्, ‘अर्को कुरा यसको सञ्चालनको मोडालिटी समेत छैन ।’
उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभाहल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताइन् ।
मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकासको नयाँ कार्यक्रम ल्याइने बताइन् ।