धनगढी : युरोपियन लिगहरू खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रूपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरेकाे जनाएको हो। यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ।
यूरोपको विभिन्न चर्चित क्लबहरूबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिगसमेत खेलेका थिए। सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन्। उनले खेलेको खेलहरूमा सेनेगल अपराजित रहेको थियो।
फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यावसायिक जीवन सुरु गरेका डियाग्नेले जेर्मन बुण्डेसलिगा क्लब फ्राइवर्गबाट युरोपा लिगसमेत खेलिसकेका छन्।
त्यस्तै उनले जर्मनकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेलेका थिए। फलाउसँग टर्किस र भारतीय फुटबलको पहिलो श्रेणीको समेत अनुभव छ। एनएसएल आवद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडीसमेत हुन्।
धनगढीसँग आवद्ध भएकाेमा खुसी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गरे ।