काठमाडौं : कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा ८४ रनको सानदार साझेदारी गरेपछि नेपालले ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमै पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । कुशलले ७४ रन बनाए । नेपाललाई विजयका लागि ५ रन आवश्यक भएको समयमा उनले लङ अफमा क्याच दिए । ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।
कुशल र आसिफले नौ ओभरमै ८४ रन जोडी विजयको आधार बनाएका थिए । १० औं ओभरको पहिलो बलमा अक्ष्य पुरीले आसिफलाई बोल्ड गरि सिंगापुरलाई पहिलो सफलता दिलाएका थिए । आसिफले २६ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।
कुशलले २६ बलमै अर्धशतक पूरा गरे । यो उनका लगातार दोस्रो अर्धशतक हो । शनिबार सम्पन्न नेपाल टी २० आई त्रिकोणात्मक शृंखलाको फाइनलमा उनले यूएईविरुद्ध २८ बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल २४ बलमा ३५ रन बनाई अविजित रहे । उनले समान २ चौका र छक्का प्रहार गरे । भुर्तेल आउट भएपछि आएका मल्लले पहिलो बलमै विजयी छक्का प्रहार गरे ।
यसअघि टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । खेलको दोस्रो बलमै करण केसीले अरित्र दत्तलाई बोल्ड गरि नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।