काठमाडौँ : इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसङ्घीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।
राष्ट्रसङ्घका अनुसार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)मा कार्यरत कर्मचारी मारिएका हुन् । आइतबार जोर्डनको राजधानी अम्मानमा राष्ट्रसङ्घले मारिएका कर्मचारीको स्मृति समारोहसमेत आयोजना गरेको थियो ।
नेपाल भ्रमणमा रहेका राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सहकर्मीहरूको निधनमा दुस्ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘यूएनआरडब्लूएका सहकर्मी गुमाउनु पर्दा म र पूरा राष्ट्रसङ्घ परिवार दुस्खी छौँ । अकल्पनीय पीडाका बीच गाजामा सहकर्मीहरू आफ्नो जीवन नै जोखिममा राखेर आवश्यक सेवा दिन जुटिरहेका छन् । उनीहरूप्रति कृतज्ञ हुँदै म ऐक्यबद्धता र पूर्ण सहयोग रहने बताउन चाहन्छु ।’
अक्टोबर ७ यता प्यालेस्टाइनतर्फ ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा महिला र बालबालिका बढी रहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
द्वन्द्वका कारण लाखौँ प्यालेस्टिनी विस्थापित भएका छन् भने हजारौँले अस्पतालहरूमा शरण लिइरहेका छन् । द्वन्द्वमा पत्रकारहरूसमेत मारिएका छन् । इजरायल-हमास द्वन्द्वमा परी कम्तीमा ३४ प्यालेस्टिनी पत्रकार मारिएको अल जजीराले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी दक्षिणी इजरायलमा ४ जना इजरायली पत्रकार मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) ले जनाएको छ ।