दार्चुला – स्थानीय सरकार गठन पछि दार्चुलाका सबै स्थानीय तहमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलाका वस्ती स्तरसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो । विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहँुच पुगेकोमा अहिले वडा र दुर्गम क्षेत्रका वस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दुर्गम वस्तीसम्म स्थानीय सरकारको अगुवाइमा स्वास्थ्य सेवाको पहुँच पुगेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी बताउँछन् ।
‘पहिले सामान्य स्वास्थ्य सेवा लिन घण्टौ हिड्नुपर्ने बाध्यता थियो’, उनले भने अहिले नागरिकले आधारभूत सेवा सहजै पाउन थालेका छन् ।’नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी गाउँपालिकाकै बजेटमार्फत हरेक वस्तीसम्म ल्याब सञ्चालनदेखि विकट ठाउँमा स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिइरहेको बताउँछन् । ‘जनताको स्वास्थ्य भन्दा अरु विकास पछिको कुरो हो । स्थानीय तहले पाच वर्षको अवधिमा दर्जन बढी ठाउँमा स्वास्थ्य संस्थाहरु विस्तार गरिएको छ,’ उनी भन्छन् ।
जिल्लामा दुईवटा अस्पताल छन् । हरेक स्थानीय तहमा सामुदायिक अस्पताल निर्माणको थालनी भएको छ । स्वास्थ्य चौकी ४० वटा छन् । जसमा व्यासमा ५, दुहुँमा ४, नौगाडमा ४, मार्मामा ५, मालिकार्जुनमा ६, लेकममा ४ र अपिहिमाल गाउँपालिकामा २ वटा छन् भने महाकाली र शैल्यशिखर नगरपालिकामा समान ५–५ वटा स्वास्थ्य चौकी छन् ।
यसैगरी ९ वटै स्थानीय तहमा २६ वटा सामुदायिक स्वास्थ्य एकाइ, ४ वटा शहरी स्वास्थ्य एकाइ र १४ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । त्यस्तै, गाउँघर क्लिनिक १५७, खोप क्लिनिक १४५ वटा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाभरी २९ वटा नीजि स्वास्थ्य क्लिनिक सञ्चालनमा छन् । स्वास्थ्य सेवालाई प्राथमिकता दिदै स्थानीय तहले पनि स्वास्थ्य सेवामा नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । विगतको तुलनामा नागरिकले स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहँुच पाएका छन् । ‘स्थानीय तहहरुले पनि नविनतम कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ’, उनले भने ।पाच वर्षमा जिल्लाको व्यास गाउँपालिकाले विपन्न नागरिक उपचार सहयोग कार्यक्रम ल्याएको छ भने महाकाली नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम ल्याएको छ । यस्तै नौगाड गाउँपालिकाले हरेक वस्तीबाट ३० मिनेटको दुरीमा पुगिने गरी स्वास्थ्य स्थापना गरेको छ ।मार्मा गाउँपालिकाले सफा आमा स्वच्छ बच्चा कार्यक्रम चालू गरेको छ भने अपिहिमाल गाउँपालिकाले गर्भवती र सुत्केरीलाई उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम ल्याएको छ भने लेकम गाउँपालिकाले सबै स्वास्थ्य सेवामा ल्याबसेवा विस्तार नीति कार्यान्वयन गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।