काठमाडौं: एक महिनाअघि सुरु भएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ। संविधान दिवसको अवसर पारेर असोज ३ गते तामझामका साथ उद्घाटन गरिएको बस सेवा एक महिनामै बन्द भएको हो। यात्रुहरूले द्रुत भनिएको बसमा झनै धेरै समय लागेको गुनासो गरेका थिए।
तर, सरकारी निकायले भने द्रुत बस सेवा बन्द नभएको दाबी गरेको छ। प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगत्तै द्रुत बस सेवा पुनः सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालनमा रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको उनको भनाइ छ ।
द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन र ट्राफिक संकेत राख्न मात्रै साढे दुई करोड रुपैयाँ खर्च भएको थियो। सडकमा लगाइएको उक्त रङ अहिले उड्न थालिसकेको छ।