काठमाडौं : सिम्रिक हेलिकप्टरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा हवाई यात्रुको जीवनमाथि खेलिरहेका छन्।
यात्रुलाई नै असुरक्षित हुनेगरी दर्जनौँ पार्ट्सको म्याद सकिँदा समेत उनले चार सय घण्टा म्याद थप्नका लागि प्राधिकरणको हवाई सुरक्षा निर्देशनालय र महानिर्देशकलाई दबाब दिएका हुन्।
नियामकमाथि लगातार धावा बोल्दै अनुचित निर्णय गराउँदै आएका सिम्रिकका अध्यक्ष थापाले पुनः हवाई सुरक्षामै असर पर्ने निर्णय गराउन दबाब दिइरहेका हुन्।
सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन्। दुईवटा हेलिकप्टरको अहिले दर्जनौँ पार्ट्सको म्याद सकिएको छ। तर, सिम्रिक हेलिकप्टरका अध्यक्ष थापाले नागरिक उड्डयन प्राधिकरणलाई दुई हेलिकप्टरको पार्ट्सको म्याद दुई/दुई सय गरी ४ सय घण्टा म्याद थप्न अनुचित दबाब दिएका छन्।
महानिर्देशक र हवाई सुरक्षा विभागले र्पाट्सको म्याद थप्न नमिल्ने बताएपछि क्याप्टेन थापाले अहिले विभिन्न सरकारी अड्डामार्फत दबाब दिएका हुन्।
सिम्रिक हेलिकप्टर पछिल्लो समय लगातार दुर्घटनामा पर्दे गएको छ। प्राधिकरणले अस्वीकार गरेपछि अहिले प्राधिकरणविरुद्ध अफवाहमा सिम्रिक एयर लागेको छ।
यसअघि पनि बक्यौता तिर्न अटेर गर्दा प्राधिकरणले सबै हेलिकप्टर ग्राउन्डेड गरेको थियो। अहिले पनि २ हेलिकप्टरको पार्ट्सको म्याद सकिँदा ग्राउन्डेड रहेको छ। तर पार्ट्स फेर्नुको सट्टा दबाब दिएर हेलिकप्टर उडान गराउन क्याप्टेन थापा लागेका छन्।