काठमाडौं : शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ७१ जनाको मृत्यु भएको सरकारी अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन् ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको उनले जनाए । त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई पालिकामा गरी ५३ जना घाइते भएका हुन् ।
घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो यसैगरी, जाजरकोटको नलगाड नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ ।
वडा नम्बर १ को सिउरी भन्ने गाउँका १२ जना, कल्पतमा ५ जना र पाली गाउँमा ३ जना गरी २० जनाको मृत्यु भएको वडाध्यक्ष धनबहादुर महरले बताए । भूकम्पमा परी नालगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।