काठमाडौं : गएरातिको शक्तिशाली भूकम्पका कारण ठूलो क्षति भएका जाजरकोट तथा आसपासका जिल्लामा राहत तथा उद्धारका लागि प्रधानमन्त्री तथा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूको टोली त्यसतर्फ प्रस्थान गरेको छ। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री प्रचण्ड, ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व अर्थमन्त्री एवं सांसद जनार्दन शर्मासहितको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएका छन्।
‘भूकम्प प्रभावित जाजरकोटलगायतका जिल्लाहरूमा खोज, उद्धार र राहतका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, मा. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र मा. पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्यकर्मी र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गर्नुभएको छ’ मल्लले फेसबूकमा लेखेका छन्।
यस्तै सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ। सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले कैयन घर भत्किएका छन् भने १२९ जनाको मृत्यु भइसकेको छ।