काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट घाइते भएकाहरूको उद्धार उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद अवस्थामा रहेको भन्दै घाइतेहरूको उद्धार र उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेका हुन्।
‘उद्धार र राहतमा संलग्न स्वयंसेवक साथीहरूले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्धार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्, ‘देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला।’
उनले विशेष गरी सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टीका कमिटीहरूले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेका छन्।