धनगढी : गएराती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी परिचालन भएका छन्। जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी परिचालन भएका हुन्।
हालसम्म भूकम्प परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १ सय ३२ जनाको मृत्यु भएको छ भने १ सय ५५ जनाको उद्धार गरिएको छ।
भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी प्राविधिक निरीक्षक डा.निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली समेत खटाइएको छ।
त्यस्तै, ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी जम्मा १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरु आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ।
पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुलीको कमाण्डमा ९ जना, नं. २९ ज्वालामाई गण दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जना, नं.४७ गुल्म पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट २ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ११ जना, आश्रित गुल्म सल्यानबाट २५ जना गरी जम्मा १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन्।
सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरुमा विपद् उद्धारका दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरुबाट समेत फौज परिचालनको लागि तयारी अवस्थामा राखिएको छ।