काठमाडौं– काठमाडौंमा मेलम्चीको पार्ने तयारी गरिएको छ । पानी वितरण गर्न काठमाडौं उपत्यकाको चक्रपथ भित्रको क्षेत्रमा १ हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन इकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न १ हजार १० किलोमिटर पाइपलाइन बिच्छ्याइएको जानकारी दिए ।
उनका अनुसार बिच्छ्याइएका पाइपमध्ये हालसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्न सकिनेछ ।
थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किलोमिटर सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको जानकारी उनले दिए । उनका अनुसार यांग्री र लार्के खोलाको पानी वितरण प्रणालीमा जडान भएपछि चक्रपथबाहिरको क्षेत्रमा पाइपलाइन विस्तार गरिने योजना छ ।
सुन्दरीजलमा आएको मेलम्चीको पानी भण्डारण गरी वितरण गरिनेछ । उपत्यकामा १० वटा ट्यांकी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार भक्तपुरको कटुन्जे र तिग्नी, काठमाडौंको आरुबारी, महाँकाल चौर, बाँसबारी, कीर्तिपुर, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्यांकी निर्माण सकिएका छन् । १० वटा पानी पोखरीमा ७४ हजार ५०० घनमिटर पानी संकलन हुनेछ । यी पोखरी ३ हजारदेखि ९ हजार ५०० घनमिटर क्षमताका छन् ।
मेलम्चीको पानीलाई सहज र सरल रूपमा उपत्यकावासीको धारासम्म पुर्याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली निर्माण गरिरहेको निर्देशक सापकोटाले बताए । गोरखापत्र