कञ्चनपुर: हमासको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल उद्धारको माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
विपिनका बुवा महानन्द जोशीले नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरूले तत्काल छोराको उद्धार गर्नुपर्ने बताए। विपिनकी बहिनी पुष्पाले आफ्नो दाई बन्धक भएको ३० दिन भइसकेको अवस्थामा नेपाल सरकारलाई आग्रह गर्दै आफनो दाईलाई सकुशल घरमा आउने वातावरण मिलाई दिन आग्रह गरिन्। उनले भाईटीका आफनै दाईसँगै मनाउने वातावरण मिलाईदन सरकारलाई आग्रह गरिन्।
प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ। ज्ञापनपत्र बुझ्दै प्रजिअ गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए।
इजरायली सरकारले हालै जोशी हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा केही आशा पलाएको छ। इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको हो। तर, जोशीलाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ ।