डोटी : हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव डोटी पुगेको छ। नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आइतबार दिउँसो डोटी शिखर नगरपालिका—६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलमा पुगेकाे हो।
विमानस्थलमा दुवै शव उनीहरूका आफन्तले बुझेका छन्। मृतकका शवलाई प्रहरीको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्याएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।
दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने छ। थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा ´लर्न एण्ड अर्न` कार्यक्रम अन्तर्गत भदौ २६ गते इजरायल गएका थिए।
थापा र फुलारासहित १० नेपाली विद्यार्थीले असोज २० गते हमासको आक्रमणमा परी ज्यान गुमाएका थिए।