धनगढी: कैलालीमा हिजो राति युवाहरुको समूहले एक युवकमाथि हतियार प्रहार गरेको छ।
जिल्लाको लम्कीचुहा नगरपालिकास्थित वडा नम्बर १ मा स्थानीय युवामाथि राति ९ बजे हतियार प्रहार भएको हो।
ठेक्कापट्टा गर्ने चिसापानीका युवा उमेशजंग शाहीको समूहले योजनाबद्ध रुपमा राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहाका अध्यक्षसमेत रहेका नहकुल बममाथि हतियार प्रहार गरेको बताइएको छ।
उनीमाथि आपसी विवादका कारण राति हतियार प्रहार गरिएको बुझिएको लम्कीका प्रहरी प्रमुख इन्सपेक्टर कान्तिराज जोशीले जानकारी दिए। उनका अनुसार बम घाइते भएको र हातमा १४ वटा टाका लगाइएको छ।
स्रोतकाअनुसार उनलाई खुँडा र तरवार हानिएको थियो। घाइते बमले उमेश शाहीसहित १५ जनाविरुद्ध जाहेरी दिएका छन्। आक्रमणकारीलाई प्रहरीले खोजिरहेको छ।
अहिले घटना मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्रीसहित लम्कीचुहाकी मेयर शुशीला शाहीसमेतले प्रहरीलाई दबाब दिइरहेको स्रोतको दाबी छ।
यस्तै युवा संघ नेपालले भने दोषीलाई कारबाहीको माग गरेको छ। राष्ट्रिय युवा संघका अध्यक्ष लक्ष्मण थापाले आज एक विज्ञप्ति जारी गर्दै दोषीलाई यथाशीघ्र पक्राउ गरि कारबाहीको माग गरेका हुन्।